कस्तो प्रचलन पाहुनाको स्वागत पनि थुकेर

२०७४ माघ २४ बुधवार
Newsdesk Shikharnews

केन्या र तान्जानियामा बसोवास गर्ने मसाई जातिका मानिसले घरमा आउने पाहुनाको हातमा थुकेर स्वागत सत्कार गर्ने प्रचलन रहेको छ । सामान्यतः हाम्रो घरमा आउने पाहुनालाई हामी आदरसहित स्वागत गर्दछौं र पाहुनाको हातमा थुक्नुलाई असभ्य र विकृत क्रियाकलाप मान्दछौ । पाहुनालाई तातो–चिसो सोध्ने, बस्नका लागि अनुरोध गर्ने तथा सञ्चो–विसञ्चो बुझ्ने हाम्रो समाजका लागि मसाई जातिका मानिसको जस्तो हातमा थुक्ने क्रिया त परिकल्पना पनि गर्न सकिदैन । हाम्रो समाजमा कसैको हातमा थुक्नु भनेको कसैप्रति घृणाभाव जनाउनु वा दुत्कार्नु भन्ने बुझिन्छ ।

पाहुनाको हातमा थुक्नु भनेको उसको अपमान गर्नु पनि हो । तर केन्या र तान्जानियामा बसोबास गर्ने मसाई जातिका मानिसमा भने पाहुनाका हातमा थुक्नु अपमान गर्नु नभइ स्वागत सत्कार गर्नु भन्ने बुझिन्छ । मसाई जातिका मानिस हातमा थुकेर एक अर्कालाई अभिवादन पनि गर्छन् । कसैको घरमा पाहुना आउनासाथ पाहुनासँग हात मिलाउनु भन्दा पहिले एक अर्काको हातमा थुकिन्छ, अनि मात्र हात मिलाइन्छ । हातमा थुक्नुलाई मसाई जातिका मानिसले पाहुनाप्रति दर्शाएको सम्मानको प्रतिक मान्दछन् । उक्त जातिका मानिसमा भर्खर जन्मिएको बच्चालाई पनि थुक्ने चलन रहेको छ ।

मासाई जातिका मासिन भर्खर जन्मिएको बच्चालाई थुक्नाले उसका सबै पाप पखालिने विश्वास गर्दछन् । अफ्रिका महादेशका केन्या र तान्जानियामा बस्ने मसाई जातिका मानिस आज पनि फिरन्ते शैलिको जीवनयापन गर्दछन् । समुहमा रहेर पूर्णतः प्राकृतिक श्रोतमा आधारित सामाजिक तथा सास्कृतिक जीवनशैलीका कारण यो जातिका मानिस विश्वभरका पर्यटकको अकर्षणको केन्द्र पनि बन्ने गरेका छन् । वर्षेनी हजारौ मानिस यो समुदायको अध्ययन तथा अवलोकनका लागि आउने गरेको बताइन्छ ।