एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा

२०७५ असार १८ सोमवार
Newsdesk Shikharnews

शिखरन्युज १८ असार – गत चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को रिजल्ट निकाल्दा गम्भीर गल्ती भएको भन्दै परीक्षा नियन्त्रक कार्वाहीका लागि तानिएका छन् ।

परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई कार्वाहीका लागि मन्त्रालय तानिएको हो । उनलाई कार्वाहीस्वरुप के गर्ने भन्नेबारे स्पष्ट भैसकेको छैन ।

प्रतिवेदन विस्तृत अध्ययनपछि थप कारबाही गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले बताएका छन् । ‘अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ’ मन्त्री पोखरेलले भने । समितिको प्रतिवेदनमा के लेखिएको छ भन्ने बारे मन्त्रालयले सार्वजनिक गरेको छैन ।

एकसाताअघि गठन गरिएको समितिले हिजो आइतबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययन लगत्तै मन्त्री पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको हो । उनलाई व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

रिजल्ट निकाल्दा गम्भीर गल्ती गर्दा विद्यार्थीहरुलाई मानसिक रुपमा असर पुगेको थियो । त्यस क्रममा भएको गल्तीबाट नियन्त्रकभन्दा माथि वा तलको अरु कर्मचारीलाई पनि कार्वाही हुने सम्भावना छ । तर, मन्त्रालयले अहिले नै कुनै स्पष्ट गरिसकेको भने छैन ।

परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी भएपछि शिक्षा मन्त्रालयले असार ११ मा शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल समितिमा रहेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट असार ९ गते एसइईको परीक्षाफल प्रकाशित गर्दा विद्यार्थीहरुको मूल अभिलेख भन्दा फरक पारी निकालिएको थियो । केही घण्टापछि फेरि सच्चाइएको थियो ।

कारबाहीस्वरुप मन्त्रालय तानिएका नियन्त्रक रेग्मीले आफूलाई औपचारिक कुनै जानकारी नआएको बताएका छन् । उनले सरकारले गर्ने निर्णय आफूले मान्नुपर्ने बताएका छन् ।