
सुरज खड्का

पहिलो र दोस्रो विश्व युद्धका कारण धेरै नेपाली युद्ध भएका मुलुकहरु पुगे । युद्धमा बेलायतको पक्षका लडेका कति पय गोर्खा सैनिक युद्ध सकिए पछि नेपाल फर्किए त कतिपय उतै घरजम गरेर बसे । नेपाल बाहेक बर्मा अर्थात म्यानमार, भुटान, थाइल्याण्ड लगायतका केही देशमा नेपाली जातीको बसोबास बाक्लो रहेको छ । त्यसैमध्येको एक हो म्यानमार अर्थात उहिलेको बर्मा ।
बर्मा कहिले पुगे नेपाली ?
१७० वर्ष अघि देखि नै नेपालीहरु बर्मा अर्थात म्यानमारमा स्थायीरुपमा बसोबास गरिरहेका छन् । भारत र भुटान पछि नेपालीको बाक्लो आवादी रहेको देश हो म्यानमार । करिब २ शताव्दी पुरानो बसोबास भएकै कारण बर्मासँग जोडिएर उखान समेत बनेको छ ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ l
म्यानमारको रक्षक–नेपाली
पहिलो र दोस्रो विश्व युद्धताका अंग्रेज फौजमा रहेका नेपालीले निकै बहादुरी पूर्वक जापानविरुद्ध लड्दै म्यानमारलाई जोगाएको भन्दै अहिले त्यहाँ रहेका नेपाली समुदायले यसको ‘क्रेडिट’ पाइरहेका छन, सम्मान खाइरहेका छन् ।
युद्धमा जापानी सैनिकबाट त्यो बेलाको बर्मालाई जोगाउन हजारौ नेपालीले ज्यान गुमाए । युद्धमा ज्यान गुमाएका नेपाली सैनिकहरुको चिहान रंगुनको ठल्चा भन्ने स्थानमा सम्मानपूर्वक राखिएको छ । अंग्रेजबाट स्वतन्त्र भए पछि म्यानमार भित्रै फरक–फरक जाती र समुदाय बीच मच्चिएको गृहयुद्ध नियन्त्रणमा लिन पनि गोर्खा फौज खटाइएको थियो ।
नेपालीको संख्या
सन् २०१० को जनगणना अनुसार म्यानमारमा करिब २ लाख संख्यामा नेपाली रहेका छन् । करिब ६ करोड जनसंख्या रहेको म्यानमारमा यो संख्या निकै झिनो हो तर अल्पसंख्यकको स्थितिमा रहेका नेपाली बीच गज्जबको एकता छ । आफ्नो भाषा, संस्कृति र रितिरिवाज जोगाउन बर्मीज नेपाली जोडतोडले लागि परेका छन् ।
एक समय नेपाली भाषा र संस्कृति म्यानमारबाट लगभग लोप हुने अवस्थामा पुगिसेको थियो । यसमा सन् १९६२ देखि उदाएको सैनिक शासनले थप समस्यामा पारेको थियो । तर बर्माकै एक जागरुक नेपाली डिआर शर्माको सक्रियताले नेपाली संस्कृति, भाषा तथा रितिरिवाज त्यतिकै हराएर गएन । उनले म्यानमारका गाउँ तथा शहरमा रहेका नेपालीलाई आफ्नो भाषा, धर्म र संस्कृति प्रति सचेत मात्रै बनाएनन, नेपाली बढाउने विद्यालय तथा मठमन्दिर समेत स्थापना गराए ।
म्यानमार र बुद्ध
म्यानमारका बहुसंख्यक नागरिक बौद्ध धर्मावलम्वी हुन् । कुल जनसंख्याको करिब ८७ प्रतिशत नागरिक थेरवाद बौद्ध धर्मावलम्वी हुन् । बौद्धमार्गी हुनुका नाताले गौतम बुद्धको जन्मस्थल नेपालप्रति हरेक बौद्धमार्गी म्यानमारेली नागरिक श्रद्धाभाव राख्छन् । कतिसम्म भने म्यानमारका बौद्ध धर्मावलम्बी नागरिक नेपालीलाई गौतम बुद्धका आफन्त ठान्छन् ।
नेपालमा औपचारिक रुपमा थेरवाद बौद्ध शिक्षाको अध्ययन हुनु पूर्व म्यानमारमा नेपालबाट बौद्ध शिक्षा अध्ययनका लागि जानेको संख्या धेरै थियो । हाल नेपालमा रहेका धेरै बौद्ध धर्मसँग सम्बन्धित गुरु तथा गुरुमाहरुले म्यानमारबाटै आफ्नो शिक्षा पुरा गरेका थिए । आङसाङ सुकीले समेत गुरुमा मानेकी धम्मवटी गुरुमा म्यानमारमा अध्ययन गरेर फर्किएकी एउटी उद्धाहरण हुन् ।
र, रोहिंग्या
म्यानमार र रोहिंग्या मुसलमान, पछिल्लो केही समयता विश्व खबरमा निरन्तर छाइरहेका छन् । संसारमै सबैभन्दा बढि अत्याचार खेपिरहेको जाती भनिन्छ रोहिंग्यालाई । आफ्नै देशमा ज्यान जोगाउन असहज भए पछि रोहिंग्याहरु थाइल्याण्ड, भारत, इण्डोनेसिया र बंगलादेशमा शरणार्थी जीवन विताइरहेका छन् । नेपालमा पनि आश्रय खोज्दै रोहिंग्याहरु आइपुगेका छन् । काठमाडाँैको कपनमा करिब ७ सय रोहिंग्याहरुले आश्रय लिइरहेका छन् ।
