
नुवाकोट : त्रिशूली नदीले सडक कटान गरेपछि त्रिदेशीय सडक मार्ग अवरुद्ध भएको छ। कतिपय स्थानमा बस्ती नै जोखिममा परेका छन्।

त्रिदेशीय सडक मार्गअन्तर्गत विदुर-वेत्रावति-किस्पाङ-मैलुङ-रसुवागढी सडकको बीचमा त्रिशूली नदीले कटान गरेपछि बुधबारदेखि आवतजावत ठप्प भएको छ। उक्त सडकमार्गको विदुर-वेत्रावति-किस्पाङको बीचमा त्रिशूली नदीले एकसय मिटर सडक कटान गरेको हो।
सडक कटान भएपछि रसुवा तथा नुवाकोटको किस्पाङ, शान्तिबजार जाने बाटो ठप्प भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। त्रिशूली नदीले कटान गर्दा उक्त स्थान आसपासका बस्ती तथा उत्तरगया गाउँपालिका कार्यालय समेत प्रभावित हुन पुगेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, रसुवाका प्रजिअ अर्जुन पौडेललगायका सुरक्षाकर्मीसहितको बैठकले तत्काल सडकको मर्मत तथा पुनर्निर्माण गरी यातायात सुचारु गर्नुपर्ने र थप कटान हुन नदिने गरी काम गर्ने निर्णय भएको छ।
चीनको तिब्बतस्थित लेन्देखोला हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति गरेको थियो ।
#manakamanapost #NewsUpdate #roaddamage
