
काठमाडौं। नेकपा (एमाले) संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने भएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले आधिकारिक ढंगबाट संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कि कानून व्यवसायीमार्फत जाने भन्ने कुरामा छलफल भइरहेको बताए ।

‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीको आधिकारिक ढंगबाट जाने अथवा कानून व्यवसायीमार्फत जाने भन्ने कुरामा हामी अन्तिम छलफल गर्दैछौं,’– आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले भने ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि बनेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुई पटक संसद् विघटन गरेको थियो । उक्त संसद् विघटनलाई सर्वोच्चले असंवैधानिक भन्दै पुनर्स्थापना गरिदिएको थियो । यसअघि संसद् विघटन ठीक भन्दै आएको एमाले पुनः संसद् विघटनको विरुद्धमा रिट लिएर सर्वोच्च जाने तयारी गरेको हो ।
